दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

काठमाडौं, २३ जेठ – ऐडन मार्क्रमको शानदार शतकको मद्दतले दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले हराउँदै आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।

लर्डसमा २ सय ८२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा पछ्यायो । मार्क्रमले २ सय ७ बलमा टोलीका लागि सर्वाधिक १ सय ३६ रन बनाए । उनले यस क्रममा १४ चौका प्रहार गरे ।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले सुरुवातमा नै रायन रिकेल्टनलाई गुमाएको थियो । उनले मात्र ६ रन बनाउन सके । त्यसपछि वियान मुल्डर र मार्क्रमले टोलीको इनिङ्सलाई अघि बढाए । उनीहरूले ९३ बलमा ६१ रन जोडे । मुल्डर २७ रन बनाउँदै मिचेल स्टार्कको बलमा क्याच आउट हुन पुगे ।

मुल्डरपछि मार्क्रमले कप्तान टेम्बा बावुमासँग मिलेर शतकीय साझेदारी गरे । दुवैले २५० बलमा १४७ रन बनाए । बावुमाले १३४ को बलको सामना गर्दै ६६ रन बनाए । उनले ५ चौका प्रहार गरे ।

त्यस्तै, डेभिड बेडिङहमले २१ रनको योगदान दिए । ट्रिस्टन स्टब्सले ८ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ तथा जेस हेजलवुड र प्याट कमिन्सले १-१ विकेट लिए । अस्ट्रेलियाले पहिलो इनिङ्समा २ सय १२ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिका १ सय ३८ रनमा अलआउट हुन पुग्यो । अस्ट्रेलियाले दोस्रो इनिङ्समा २ सय ७ रन बनायो ।

Facebook Comments Box