धुलिखेल अस्पतालले आवासीय चिकित्सकलाई सरकारले तोके अनुसारको निर्वाह भत्ता दियाे

काठमाडौं, २७ चैत – काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको धुलिखेल अस्पतालले आवासीय चिकित्सकलाई सरकारले तोके अनुसारको निर्वाह भत्ता दिएको छ । केयूको स्कूल अफ मेडिकल साइन्सेजको डिन प्राडा मनोज हुमागाईंका अनुसार आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७३४ रुपँया दिइएको हो ।

‘शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगको निर्देशन भएसँगै आवासीय चिकित्सकलाई निर्वाह भत्ता दिने निर्णय गरेका हौं,’ डा. हुमागाईंले भने । धुलिखेल अस्पतालमा स्नातकोत्तर तह (पीजी) अन्तर्गतको १२० आवासीय चिकित्सक अध्ययनरत छन् ।

चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो । सोही अनुसारले आयोगले निर्णय लागु गर्न सम्बन्धित विश्वविद्यालय र मेडिकल कलेजहरूमा पत्र पठाएको थियो ।

तर आयोगले गरेको निर्णय दुई महिना बितिसक्दा पनि निजी मेडिकल सञ्चालक हटेर गरेर बसेका छन् । अहिले १६ वटा मेडिकल कलेजका २ हजारभन्दा बढी आवासीय चिकित्सक निर्वाह भत्ताका लागि सडक उत्रिएका छन् । निजी मेडिकल कलेजले सरकारले तोकेको निर्वाह भत्ता उपलब्ध नगराउँदासम्म आन्दोलनलाई सशक्त बनाउँदै लैजाने उनीहरूको चेतावनी छ ।

Facebook Comments Box