राजावादी आन्दोलनको मूल नेतृत्व गरिरहेका रविन्द्र र धवल प्रहरी नियन्त्रणमा, दुर्गा फरार

काठमाडौं, १६ चैत – राजावादी आन्दोलनको मूल नेतृत्व गरिरहेका उच्च तहका नेताहरूलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय बनेको छ । प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी राति अबेरसम्म पनि भेटिएका छैनन् ।

प्रहरीले उनीसहित आन्दोलनमा खटिएका राप्रपाका अन्य दुई शीर्ष नेतालाई भने ललितपुरको सातदोबाटोबाट शुक्रबार साँझ प्रकाउ गरेको छ । पक्राउ परेका राप्रपा वरिष्ठ नेता रविन्द्र मिश्रका अनुसार ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना भएका केही घाइतेलाई भेटेर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

टेकुस्थित अपराध अनुसन्धान कार्यालयबाट  उनले महामन्त्री धवलशमशेर राणासहित आफू पक्राउ परेको जानकारी गराए । प्रहरीले सोही अभियानका अन्य नेताहरू स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बु लगायत पाँच जनालाई पक्राउ गरेको छ । उता, सोही अभियानका संयोजक नवराज सुवेदीको घरमा भने प्रहरी परिचालन भएको छ । उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अहिले प्रहरीले पक्राउ नगरेको र अवस्था हेरेर आवश्यक निर्णय लिने बताएको छ ।

शुक्रबार दिउँसो तीनकुनेमा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो । अवस्था तनावपूर्ण बनेपछि प्रशासनले  बिहान सात बजेसम्मका लागि काठकाडौंका विभिन्न स्थानमा कर्फ्यु जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान सात बजेसम्म कर्फ्यु जारी रहनेछ ।

Facebook Comments Box