वुमन्स डे कप टी-२०आई प्रतियोगितामा नेपाल हङकङसँग २ रनले पराजित

काठमाडौं, २६ फागुन – युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले हङकङसँग हार व्यहोरेको छ । नेपाल हङकङसँग २ रनले पराजित भएको हो ।

हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो । कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाउँदै १९औं ओभरको अन्तिम बलमा आउट भएकी थिइन् ।

अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहँदा नेपालले ७ रन मात्र जोड्न सक्यो । पुजा महतोले १९ तथा बिन्दु रावलले १४ रन बनाइन् । हङकङका लागि मारिको हिलले २ तथा सिउ मे वाइ र चान या किनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपालसामू १०१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हङकङले २० ओभरमा ७ विकेट गुमाएर १०० रन बनाएको हो ।

हङकङका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् । मारिको हिलले २१ रन बनाइन् । नेपालका लागि ईश्वरी विष्ट र कप्तान इन्दु बर्माले २-२ विकेट लिँदा रचना चौधरी र पुजा महतोले १-१ विकेट लिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले आइतबार युगाण्डालाई हराएको थियो । हङकङले भने सुरुवाती खेलमा युगाण्डासँग पराजित भएपनि नामिबियालाई दोस्रो खेलमा हराएको थियो ।

Facebook Comments Box