एनपीएलमा : आज पोखरा-जनकपुर, काठमाडौँ-सुदूरपश्चिम भिड्दै

काठमाडौँ, २० मङ्सिर – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ। एनपीएलमा लगातार दोस्रो जित निकालेको जनकपुर अपराजित यात्रालाई कायम राख्ने योजनामा मैदान उत्रिँदै छ।

पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ। जनकपुरको नेतृत्व भने अनिल शाहले गर्नेछन्। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा पनि कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो। जनकपुर आजको खेलमा पोखरालाई हराउँदै अंक तालिकाका शीर्ष स्थानमा कायमै रहन चाहन्छ।

उता पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको पोखरा एभेन्जर्स भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ। पोखराले एनपीएलको पहिलो खेलमा बिर्सनलायक प्रर्दशन गरेको थियो। पोखरा आजको खेलमा त्यो हारलाई बिर्सिँदै नयाँ सुरुवात गर्न चाहन्छ। आजै हुने दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

एनपीएलको दुई खेलमध्ये एक खेलमा जित र १ खेलमा हार भोगेको काठमाडौँ दोस्रो जितको खोजीमा छ। काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने बुधबार मात्रै कर्णाली याक्सलाई ३ विकेटले हराएको थियो। सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा काठमाडौँ जितको लयलाई कायम राख्न चाहन्छ।

काठमाडौं करण केसीको कप्तानीमा मैदान उत्रिँदै छ। सुदूरपश्चिमको कमान्ड भने दीपेन्द्रसिंह ऐरीले सम्हाल्दै छन्। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै एनपीएलमा सुखद सुरुवात गरेको थियो। सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने योजनामा छ।

Facebook Comments Box