रामेछापमा पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु, केही व्यक्ति बेपत्ता

रामेछाप, ९ भदौ – रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । केही व्यक्ति बेपत्ता छन् । पहिरोले अँधेरीखोलाको पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार घटनास्थलबाट विस्तृत विवरण आउन बाँकी छ ।

उनका अनुसार आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको सूचना जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको थियो । त्यसअघि नै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो ।

‘नजिकका प्रहरी टोली घटनास्थल पुग्दा दुई जनाको शव भेटिएको छ,’ प्रहरी इन्सपेक्टर न्यौपानेले  भने, ‘केही व्यक्तिहरु बेपत्ता छन् । तर मृतक र वेपत्ताको परिचय खुल्न बाँकी छ ।’ उनका अनुसार जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीप कुमार सिंहसहितको टोली पनि घटनास्थल प्रस्थान गर्दै छ ।

Facebook Comments Box