नेपाल समूह विजेताको रुपमा साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौँ, ६ भदौ – घरेलु टोली नेपाल समूह विजेताको रुपमा साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा नेपाली युवा टोलीले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
समूह ए को अन्तिम खेलमा तीनै गोल पहिलो हाफमा भयो।

पहिलो हाफको १५ औँ मिनेटमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको थियो। निराजन धामीको गोलमा नेपालले अग्रता बनाएको थियो। लगत्तै १६ औँ मिनेटमा समिर तामाङको गोलमा नेपालले अग्रता दोब्बर पार्यो।

पहिलो हाफको इन्ज्युरी समयमा बंगलादेशले १ गोल फर्कायो। इस्लामको गोलमा बंगलादेशले खेलमा २–१ को अवस्थामा ल्यायो। खेलमा नेपालले थुप्रै अवसरको सृजना गरेपनि फिनिसिङ लाइन भने कमजोर देखियो।

हारका बावजुद पनि बंगलादेश समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको छ। समूह ए बाट दुई खेलमा पराजित भएको श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ। नेपालले अब सेमिफाइनलमा समूह बी को उपविजेता टोलीसँग खेल्नेछ।

बंगलादेशले भने समूह ए को विजेतासँग खेल्नेछ। नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको थियो। समूह चरणका दुई खेलमा जित निकाल्दै अपराजित रहेको नेपालले ६ अंक बनाएको।

एक खेलमा जित निकालेको बंगलादेश भने ३ अंकमा दोस्रो स्थानमा रहँदै समूह उपविजेता बनेको हो। जितविहीन श्रीलंकाले भने खाता खोल्न सकेन।

समूह बी मा रहेका भारत, भुटान र मालदिभ्स तीनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ। समूह बी को अन्तिम खेलमा भोलि शुक्रबार भारत र मालदिभ्स खेल्नेछन्।

यो खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ। समूह बी मा भारत र भुटानले समान एक खेल जितेका छन्। भारत र मालदिभ्सले एक खेल खेल्न बाँकी छ। भोलिको खेलमा भारतले मालदिभ्सलाई पराजित गरे भुटान सेमिफाइनलमा पुग्नेछ।

Facebook Comments Box