वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए
बागलुङ, १५ असार – बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।
त्यस्तै स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी ती वर्षीया छोरीको मृत्यु भएको हो । सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।