ओखलढुङ्गामा पहिरोमा परेर एकको मृत्यु, दुई घाइते
काठमाडौं, १२ असार – गए राती देखी परेको अविरल वर्षा सँगै आएको पहिरोले घर र गोठ पुरिदा एक जनाको ज्यान गएको छ । दुई गम्भीर घाइते हुनुभएको छ । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–५ थुम्कीका ३९ वर्षीय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको कच्ची घर पुरिदा उहाँकी श्रीमती ३५ वर्षीय देव कुमारी खत्रीको घटना स्थलमै ज्यान गएको हो ।
पहिरोमा परि खत्री आफै र १८ वर्षीय छोरी मेनुका खत्री गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो । घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी निरीक्षक कार्कीको भनाई छ । पहिरोमा पुरिएका तीन वटा भैँसी र १४ वटा बाख्राको जीवितै उद्धार गरिएको छ ।
त्यस्तै गरि मङ्गलबार रातिबाट परेको वर्षाका कारण घर भत्किँदा कास्कीमा दुई जनाको ज्यान गएको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानीमा घरले घर भत्किँदा १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो ।नजिकैको माटोको ढिस्को भत्किँदा प्रकाश रानाभाटको घर भत्किएको हो ।
बिहान सवा २ बजेतिर घरले पुरिएर आयुस्माको मृत्यु भएको हो । सँगै सुत्नुभएकी आयुस्माकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारी पनि सकुशल हुनुहुन्छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले लालमायालाई उद्धार गरेको थियो । वर्षाका कारण पोखरा महानगरको वडा नम्बर २७ आरु पाटामा एक बालकको ज्यान गएको छ ।
बिहान ३ बजेतिर हरि सुनारको घर भत्किँदा उहाँका छोरा तीन वर्षीय अनमोलको मृत्यु भएको हो । अनमोलकी आमा २७ वर्षीया रितु सुनारलाई घाइते अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएको छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले रितुको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो ।
घरमै सँगै सुत्नुभएका हरि सुनार ९ वर्षीया अञ्जली सुनार भने सकुशल हुनुहुन्छ । मनसुनी वर्षा सक्रिय भएपछि मङ्गलबार रातिबाट लगातार भारी वर्षा भइरहेको छ । वर्षाका कारण नदीका सतहहरू बढेका छन् । पोखरा १४ को चाउँथेमा पृथ्वीराज मार्गको सडक भासिएको छ । प्रहरीले अहिले एकतर्फी रूपमा सडक सुचारु गराएको छ ।
वर्षाका कारका पोखरा ७ र पोखरा ३३ का केही घर डुबानमा परेका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधवार बिहान जारी गरेको नियमित बुलेटिनमा केही स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ ।