वन डढेलो सङ्कट घोषणा गर्न माग

काठमाडौँ, २८ चैत – नेपाल वन प्राविधिक सङ्घ (एनएफए) ले वन ढडेलो सङ्कट घोषणा गर्न सरकार समक्ष माग गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो वन डढेलो नियन्त्रणका लागि सङ्कटकाल घोषणा गर्न माग गरेको हो ।

महासङ्घका अध्यक्ष राकेश कर्णले वन डढेलोका कारण देशव्यापी रुपमा प्रभाव परेको, वातावरणीय प्रदूषण बढिरहेकोले वनलाई डढेलोबाट जोगाउन आवश्यक रहेको बताउनुभएको छ ।

“वन डढेलोको कारण वनविनास भएको छ, बस्ती जोगाउनै मुस्किल भएको छ”, उहाँले भन्नुभयो, “वन डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि जुटाउन र सङ्कट घोषण गर्न आवश्यक छ ।”

उहाँले वन डढेलो नियन्त्रणको क्रममा मृत्यु हुने नेपाली सेनाका जवान प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । प्राकृतिक स्रोत संरक्षण कार्य चुनौतीपूर्ण रहेको डोल्पाको घटनाले प्रष्ट पारेको उहाँको भनाइ छ ।

कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरि नगरपालिका बडा नं ३ र ४, तिन्नाको मस्टा भवानी सामुदायिक वनमा लागेको वन डढेलो नियन्त्रण गर्ने क्रममा मंगलबार डोल्पास्थित देवीदत्त गुल्ममा कार्यरत ३८ वर्षिय जमदार केशवबहादुर जागा मगर, सिपाहीहरु २२ वर्षिय हेमन्त रावत र ३८ वर्षिय आशिष बुढाको मृत्यु भएको थियो ।

विजय कोइराला गम्भीर घाइते भई काठमाडौँमा उपचारत हुनुहुन्छ । वन डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका जवानलाई संरक्षण सहिद घोषणा गर्न र घाइतेको निःशुल्क उपचार गर्न एनएफएले माग गरेको छ । मृतकको परिवारजनलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।

Facebook Comments Box