धार्मिक तनाव बढेपछि सुनसरीका दुईवटा गाउँपालिकामा निषेधाज्ञा जारी
काठमाडौं, २३ चैत्र – धार्मिक तनाव बढेपछि सुनसरीका दुईवटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ। मुस्लिम र हिन्दु समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिका सबै वडा र देवानगन्ज गाउँपालिका वडा नं. १ र ७ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो।
केही दिनयता ती दुई गाउँपालिकामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच हिंसात्मक झडपसमेत हुन थालेपछि सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयँलले शुक्रबार दिउँसो १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मलाई निषेधाज्ञा जारी गरेका हुन्।
उनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेर निस्कनेबाहेक सामूहिक रुपमा सामाजिक, धार्मिक, राजनैतिक सभा,र्याली/ भेला र प्रदर्शन गर्न निषेध गरिएको जनाएका छन्। आदेशविपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने पनि उनले बताएका छन्।
समाचार अनुसार गत जनवरी २२ मा भारतको अयोध्यामा भगवान् श्रीरामको मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठाका क्रममा लगाइएका झण्डा र तुलहरू मुस्लिम समुदायले च्यातिदिएको आरोप लागेको छ। त्यसबारेमा अस्थायी प्रहरी चौकीमा निवेदन दिएको पनि जिकिर हिन्दु समुदायको छ। त्यसपछि दुवै समुदायबीच छलफल भइ सद्वभाव बिग्रिने गतिविधि नगर्ने सहमति भएको थियो।
तर उक्त सहमतिपछि पनि दुवै समुदायबीचको तनाव शान्त भएन। केही युवाहरूमाथि कुटपिट पनि भएको छ। धार्मिक सद्भाव भड्किने गरी बनाइएका केही भिडिओले त्यहाँको वातावरण झनै खल्बल्याएको सुनसरी प्रशासनले जनाएको छ। मुस्लिम समुदायहरूले हिन्दुहरूका केही युवामाथि आफूहरुको धार्मिक ग्रन्थ कुरान जलाएको आरोपसमेत लगाएका छन्। तर हिन्दु समुदायले भने कुरान नजलाएको भन्दै अफवाह फैल्याइको दाबी गरेका छन्।