गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास

काठमाडौं, १३ चैत – गाजामा तुरुन्त युद्धविराम गर्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदबाट पास भएको छ । लगत्तै इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ । चीनले राखेको युद्धविरामको प्रस्ताव मतदानबाट टुंगो लगाइएको हो । मतदानमा अमेरिकाले भाग लिएन । तर बहुमत सदस्यहरुले युद्धविराम रोक्नुपर्ने पक्षमा मतदान गरे ।

यसअघि अमेरिकाले ल्याएको यस्तै एक प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेर रोकेका थिए । चीनले आफूले राखेको प्रस्ताव पास भएकोमा खुसी व्यक्त गरेको छ । यसका लागि अल्जेरिया र अन्य अरब देशले कडा मिहिनेत गरेको भन्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रशंसासमेत गरेका छन् ।

गत ७ अक्टुबरमा इजरायलमाथि हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा सैन्य कारबाही जारी राखेको छ । यो कारबाहीमा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजामा तुरुन्त युद्धविराम लागु गर्ने प्रस्ताव सुरक्षा परिषदबाट पास भएपछि असन्तुष्ट इजरायलले आफ्नो प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गरेको छ । अमेरिकाले भिटो प्रयोग गरी युद्धविरामको प्रस्ताव रोकिदियोस् भन्ने इजरायलको चाहना थियो । तर त्यसो नभएपछि इजरायल असन्तुष्ट छ ।

इजरायलका प्रधानमन्त्री कार्यालयका अनुसार सुरक्षा परिषदमा अमेरिकाको भूमिका परिवर्तन भएपछि प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले प्रतिनिधिमण्डलको अमेरिका भ्रमण रद्ध गर्ने निर्णय गरेका हुन् । उनले पहिले नै अमेरिकाको भूमिकामा परिवर्तन भए यो भ्रमण रद्ध हुने बताएका थिए ।

यद्यपि ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले सुरक्षा परिषदमा मतदानमा भाग नलिँदैमा अमेरिकाको नीतिमा परिवर्तन भएको भनेर भन्न नमिल्ने बताएका छन् । यस विषयमा अमेरिकाले इजरायलसँग छलफल गर्ने पनि उनले बताएका छन् ।

Facebook Comments Box