संरक्षणको पर्खाइमा ‘चन्द्रपाल थेपे ढापपोखरी’

इलाम, १२ चैत – इलामको सन्दकपुर गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र ‘चन्द्रपाल थेपे ढापपोखरी’ संरक्षणको पर्खाइमा रहेको छ । सन्दकपुर–५ स्थित जमुनामा रहेको ढापपोखरीमा आवश्यक बजेट अभावमा संरक्षण र प्रवद्र्धन हुन नसकेको हो । चन्द्रपाल थेपे ढापपोखरी सिमसार संरक्षण समितिका अध्यक्ष युवराज भट्टराईले पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको ढापपोखरीमा आवश्यक बजेट अभावमा पूर्वाधार निर्माण, संरक्षण र प्रवद्र्धनको काम गर्न समस्या भएकोे बताउनुभयो ।

स्थानीयले ८ वर्षअघि बाँध बाँधेर पानी जम्मा गरी विकास र विस्तार गरेको ढापपोखरीको संरक्षण र प्रवद्र्धनका लागि सरकारी निकायको ध्यान नजाँदा ढापपोखरी सङ्कटमा परेको उहाँको भनाइ छ । सुन्दर र आकर्षक देखिने ढापपोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवद्र्धनका लागि सरकारको प्राथमिकतामा परेको छैन । प्रचुर सम्भावना भएर पनि सङ्कटमा परेको संरक्षण समितिका अध्यक्ष भट्टराईले बताउनुभयो ।

“ढापपोखरी पुग्ने सडक स्तरोन्नति गर्नुपर्ने, पोखरी वरिपरि पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सेल्फी पार्क बनाउनुपर्ने, पानीको फोहोरा फाल्ने संरचना निर्माण गर्नुपर्ने, डुङ्गा सञ्चालनका लागि व्यवस्थित बोटघर निमर्ण गर्नुपर्ने, वरीपरी ड्रेन बनाउनुपर्नेलगायतको संरचना र पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक छ,” अध्यक्ष भट्टराइले रासससँग भन्नुभयो, “यसका लागि स्थानीय सरकारको हैसियतले सन्दकपुर गाउँपालिकाले स्वामित्व ग्रहण गरी आवश्यक पहल गर्नुपर्छ ।”

ढापपोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण आकर्षक गन्तव्यका रूपमा विकास भए पनि आवश्यक संरक्षणको अभावमा सङ्कटमा परेको समितिका उपाध्यक्ष निरबहादुर फागोको फागोले बताउनुभयो । “पोखरीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि यसको संरक्षण र प्रवर्द्धनसँगै र प्रचारप्रसार गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “पोखरीको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसार गर्न सकेमा धेरै पर्यटकको उपस्थिति हुने सम्भावना छ,

त्यसका लागि तिनै तहको सरकारको ध्यान जान जरुरी छ ।” ढापपोखरीलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष योजना प्रस्ताव गरिँदै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । सुरुका वर्ष पोखरीको संरक्षण र विकासका लागि केही बजेट आए पनि पछिल्लो चार वर्षदेखि आउनै छाडेको उहाँको गुनासो छ ।

ढापोखरीसँगै रहेको गजाधर–धनमाया रङ्शाला र मन्दिरलाई समेत पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ आफूहरू लागिपरेको भए पनि स्रोतसाधनको अभावमा समस्या रहेको उहाँले बताउनुभयो । ढापपोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । दुई सय १५ मिटर लम्बाइ र एक सय मिटर चौडाइ रहेको पोखरीको क्षेत्र विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिने भट्टराईले बताउनुभयो ।

विसं २०७२ वैशाख १ देखि स्थानीयले जनश्रमदान गरेर ढापपोखरी निर्माण अभियान सुरु गरेका थिए । दलदल र सिमले भरिएको उपत्यकाजस्तो क्षेत्रमा स्थानीयले निरन्तरको प्रयासपछि पोखरीको निर्माण भएको हो । क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलोमाटो र ढुङ्गाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत ड्याम बनाइएको छ ।

डुङ्गा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्ने गरेका छन् । इलाम सदरमुकामदेखि करिब २१ किलोमिटर उत्तरमा पर्ने ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयले घरबास सञ्चालन गरेका छन् । ढापपोखरीमा माछापालन थालिएपछि आगन्तुकलाई आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुङ्गीसमेत पोखरीमा आउने गरेका छन् ।

Facebook Comments Box