ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, चार घाइते
काठमाडौँ, १७ पुस – रौतहटको चन्द्रपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। पुस १६ गते चन्द्रपुर नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको चिडियादह चोकस्थित बागमती तर्फबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको ज १ ह ४४८५ अटोलाई अम्लेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १९२७ नं को तेल ट्यांकरले ठक्कर दिएको थियो। त्यसक्रममा अटोमा सवार ६ जना मानिस घाइते भई उपचारका लागि चन्द्रनिगापुरस्थित सिभिल अस्पताल लगिएको थियो।
गम्भीर घाइते भएका भारतको सितामढी जिल्ला डुमरी बस्ने कृपानन्द सिंहको छोरा अन्दाजी वर्ष ४० को पिंकु सिंह र राम लखन रामको छोरा अन्दाजी वर्ष २० को अवधेश रामलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचाररत सर्लाहीको बाग्मती नगरपालिका–६ खाल्टे बस्ने अन्दाजी वर्ष ४४ को भुपेन्द्र सहनी, रौतहटको चन्द्रपुर नगरपालिका–५ बस्ने नजाम अन्सारीको छोरा अन्दाजी वर्ष १५ को समिर अन्सारी, रौतहटकै गरुडा नगरपालिका–६ पोठियाही बस्ने अन्दाजी वर्ष २२ को अस्गर देवान र उनी श्रीमती अन्दाजी वर्ष २० की जवाहिर खातुनको अवस्था सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।

