नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ

काठमाडौँ, ९ पुस – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सिमा नाकाबाट आउने सङ्क्रमितको नमूना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ । प्रयोगशालाले सीमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गरेको हो ।

प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १४ नमूनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट (भेरिएन्ट अफ इन्टरेस्ट) फेला नपरेको बताउनुभयो । उहाँले ति नमूनामा जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोनको भेरियन्ट देखिएको बताउनुभयो ।

भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमूनाको जिन सिक्वेन्सिङ गरिएको हो । “सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका नमूना पठाउन भनेका छौँ”, उहाँले भन्नुभयो, “डिसेम्बर महिनाका पनि हामीले जिन सिक्वेन्सिङ गर्ने छाैँ ।”

सरकारले भारतको केरला राज्यमा देखिएको सङ्क्रमणको रोकथाम र उपचारको लागि तयारी अवस्था रहेकाले सबैलाई नडराउन आग्रह गरेको छ । प्रयोगशालाले चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनियाको जिन सिक्वेन्सिङ गर्ने तयारी गरेको छ । प्रयोगशालाका निर्देशक डा भट्टले जिन सिक्वेन्सिङका लागि किट रहेकोले नमूना सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

Facebook Comments Box