नेपाल सुपर लिग : काठमाडौंले पोखरालाई २–१ ले हरायो
काठमाडौँ, २५ मङ्सिर – नेपाल सुपर लिग एनएसएल फुटबलमा पोखरा थन्डर्स पहिला लिएको अग्रता जोगाउन नसक्दा काठमाडौं रेजर्ससँग पराजित भएको छ । काठमाडौंको दशरथ रंथशालामा काठमाडौंले पोखरालाई २–१ ले हरायो । यो जितसँगै काठमाडौं ८ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
काठमाडौंलाई जिताउन शोखरुले इन्जुरी समयमा गोल गरे । उनले पोखराका किपर प्रिसो अघि बढेको अवस्थामा उनलाई बिट गर्दै भलिबल प्रहार गरेको बल गोल भएको हो । यसअघि खेलमा ५९ औं मिनेटमा पोखराका मार्की आयुष घलानले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
स्टेफेन कोजो एनोरले हानेको शक्तिशाली प्रहार काठमाडौंका किपर अन्जल श्रेष्ठले बचाउने क्रममा पूर्ण रुपमा रोक्न सकेनन् र रिबाउन्डमा आयुषले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई काठमाडौंले ८३ औं मिनेटमा तोडेको थियो । एनकुनगुए जुनियरले बक्सको एजबाट हानेको प्रहार गोल भएको थियो। पोखराका किपर प्रिसोले बचाउने प्रयास गरे पनि सकेनन् ।

