सर्लाहीको हरिवनमा रात्रि बसको ठक्करबाट एक वृद्धको मृत्यु

सर्लाही, ३० कात्तिक – सर्लाहीको हरिवनमा रात्रि बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११, कडरिया चोकमा हरिपूर्वाबाट काठमाडौँका लागि छुटेको ना ६ ख ९११७ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ८० वर्षीय मानबहादुर राईको मृत्यु भएको हो ।

बुधवार साँझ सडक पार गर्ने क्रममा बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका वृद्ध राईको उपचारका क्रममा राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतकको शव सोही अस्पतालमा छ । दुर्घटनामा संलग्न बस प्रहरीको नियन्त्रणमा छ ।

चालक फरार रहेका र बस व्यवसायी सङ्घ तथा बस धनीसँग समन्वय गरी खोजी भइरहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार बसमा सवार रहेका आठ जना यात्रुलाई बुधवार राति नै अर्को बसमा चढाएर काठमाडौँ पठाइएको छ ।

Facebook Comments Box