अपाङ्गता सम्बन्धी जनप्रतिनिधिहरुलाई एक दिने तालिम प्रदान

काठमाडौँ, १३ चैत – हाम्रो समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरु प्रति हेरिने दृष्टिकोण र बुझाईमा सकारात्मक परिवर्तन आउन सकेको छैन । समाजमा रहेका अन्य नागरिकहरु जस्तै जनप्रतिनिधिहरुमा पनि अपाङ्गताको विषयमा राम्ररी जानकारी छैन ।

अपाङ्गताको विषयमा स्थानीय जनप्रतिनिधिहरुलाई पनि जानकारी होस् र अन्य नागरिक सरह अपाङ्गता भएका व्यक्तिहरुलाई पनि जीवन यापन गर्न सहज होस भनेर हिजो चैत १२ गते राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले ललितपुर महानगरपालिकाका २९ वटै वडाका जनप्रतिनिधिहरुलाई अपाङ्गता समानता तालिम र अनुशिक्षण प्रदान गरेको छ ।

सो तालिममा आयोजक संस्था राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका अध्यक्ष किरण शिल्पकारले जनप्रतिनिधिहरुलाई अपाङ्गताको विषयमा जानकारी गराउदै यस संस्थाले स्थापनाकाल देखि नै सरकारी तथा गैर सरकारी निकायहरुलाई अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गर्नु पर्ने भन्दै वकालत तथा पैरवी गर्दै आएको र केही मात्रमा सरकारी निकायहरुमा मानव मैत्री संरचना निर्माणको कामको सुरुवाती भएको बताउनु भयो ।

साथै उहाँले यस कार्यक्रममा सहभागी हुनु भएका जनप्रतिनिधिहरुले अबका दिनमा आफ्नो कार्यलय तथा शौचालय मानव मैत्री बनाउनका लागि पहल गर्नको लागि आग्रह गर्नु भयो । त्यसै गरी वडा नं १३ का वडा सदस्य सरस्वती जोशीले अबका दिनमा वडा नं १३ मा रहेका अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुसँग नै छलफल गरेर उनीहरु मैत्री कार्यकक्ष, शौचालय निर्माण गर्न पहल गर्ने बताउनु भयो ।

यसै क्रममा वडा नं २ का वडा सदस्य एलिशा डंङ्गोलले आफ्नो वडा कार्यलय सम्म पुग्नको लागि र्याम्प राखिएकोले पहुँचयुक्त रहेको भन्दै अबका दिनमा आफ्नो वडाका सार्वजनिक भवन निर्माण गर्दा मानव मैत्री बनाउन सुझाब दिने र प्रत्येक विश्राम स्थलहरु अपाङ्गता भएका व्यक्तिहरुको लागि पनि पहुँच युक्त बनाउने बताउनु भयो ।

सो तालिममा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी महासिचव रमा ढकालले अपाङ्गताको विषयमा जानकारी गराउदै मानव मैत्री संरचना निर्माणका लागि सबै जनप्रतिनिधिहरुले आ-आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने बताउनु भयो ।

अपाङ्गता समानता तालिम र अनुशिक्षण कार्यक्रममा ललितपुर महानगरपालिका महिला तथा बालबालिका विभागकी प्रमुख महेश्वरी विष्टले अपाङ्गतालाई हेयको दृष्टिकोणले हेर्न नहुने र उनीहरुको सीप, क्षमता, दक्षतालाई उपयोग गर्ने अवसर प्रदान गर्न सकेमा उनीहरुले देशकै नाम विश्व सामु चिनाउने बताउदै सबै जनप्रतिनिधिहरुले अपाङ्गताका सवालहरुलाई प्रष्टसँग बुझेर उनीहरुका सवालमा पनि काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत महिला तथा बालबालिका विभागकी निर्देशक निरा अधिकारीले अपाङ्गता प्रति हाम्रो समाजमा भएको नकारात्मक सोचलाई पूर्ण रुपमा हटाउनु पर्ने र प्रत्येक वडाका जनप्रतिनिधिहरुले आफ्नो वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको समस्या पहिचान गरी समस्या समाधानका लागि काम गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

शर्मिला विश्वकर्मा

Facebook Comments Box