लेखसाइड चौबिसै घण्टा खोल्न दिन उच्च अदालत पोखराकाे आन्तरिम आदेश
बागलुङ, २२ कात्तिक – पटक पटक आश्वासन, निर्णय र निर्देशन भएर पनि कार्यान्वयन हुन नसकेको विषय हो, पोखराको लेकसाइड चौबिसै घण्टा खुला राख्ने । उच्च अदालत पोखराले बुधबार लेखसाइड चौबिसै घण्टा खोल्न दिन आन्तरिम आदेश गरेपछि फेरि यो विषयमा बहस सुरु भएको छ ।
कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो ।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने बताइएको थियो ।
तर, त्यो कार्यान्वयन नभएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर मंगलबार देवीकुमारी बरालले रिट हालेकी थिइन् ।निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए । उनीहरुको बहस सुनेपछि उच्च अदालत पोखराले १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि जिल्ला प्रशासन कार्यालय लगायतका विपक्षीलाई आदेश दिएको छ ।

