नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कार्कीलाई पछि हटाउन प्रचण्ड र देउवाले राखेको गरेको प्रस्ताव अस्वीकार

काठमाडौँ, २६ असोज – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशी प्रदेशमा एमालेको साथ लिएर मुख्यमन्त्री दाबी गरेका केदार कार्कीलाई पछि हटाउन गरेको प्रस्ताव अस्वीकार गरेका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र देउवाले राखेको मध्यमागी प्रस्ताव नमानेको पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

‘केदार कार्कीले एमालेको समर्थनमा दाबी गरेपछि आज हामी प्रधानमन्त्रीसमेतको उपस्थितिमा बैठक बस्यौं, त्यहाँ प्रधानमन्त्री लचकताकासाथ प्रस्तुत हुनुभयो,’ विश्वकर्माले भने, ‘उहाँ (प्रधानमन्त्री) ले यदी कांग्रेसको मुख्यमन्त्रीमा अघि नसारेकै कारण समस्या भएको हो भने साझा रुपमा अर्को मान्छे दिनुस्, हामी समर्थन गर्छौं भन्नुभयो।’

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त छलफलमा नेता कोइराला पनि उपस्थित थिए। ‘प्रधानमन्त्रीको भनाईपछि सभापति देउवाले पनि कार्की बाहेक जुन मान्छेको नाम दिनुहुन्छ, पार्टीले समर्थन गर्छ, अर्को मान्छे दिनुस् भनेर प्रस्ताव राख्नुभयो,’ विश्वकर्माले भने, ‘प्रधानमन्त्री र सभापतिको प्रस्ताव उहाँ (शेखर कोइराला)ले अस्वीकार गर्नुभयो।’

कोशीमा कोइाराला पक्षका सांसद कार्कीले एमालेको समर्थनमा ९ जना अन्य सांसदको हस्ताक्षरसहित दाबी अघि सारेपछि गठबन्धनका शीर्ष नेताहरू सहमतिको प्रयासमा जुटेका थिए। तर, सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा भने नेता शेखर कोइराला अनुपस्थित भए।

बैठकमा कोइराला नै अनुपस्थित भएपछि शुक्रबारको बैठक कुनै निर्णय नगरी स्थगित भएकाे विश्वकर्माले जानकारी दिए। उनका अनुसार अर्को बैठक भोलि (शनिबार) पुनः बस्नेछ।

कोशीमा प्रदेश प्रमुखले दिएको समयसीमा शुक्रबार अपरान्ह ५ बजेबाट नै सकिएको छ। सो अवधिमा आफूहरूले गरेको दाबी अनुसार मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै केदार कार्कीसहितका कांग्रेस सांसद र एमाले सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।

Facebook Comments Box