कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही असोज २० गते विश्वासको मत लिने

काठमाडौँ, १७ असोज – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही असोज २० गते विश्वासको मत लिने भएका छन्। प्रदेशसभाको चौथो अधिवेशन बुधबार सुरु हुँदैछ। कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जुटेको हो।

एमालेका प्रमुख सचेत रेवतीरमण भण्डारीले पनि सकेसम्म शुक्रबार यदि नभए शनिबार विश्वासको मतको कार्यक्रम हुनसक्ने बताएका छन्। संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका थिए। संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात् यही २० गतेभित्र कार्कीले विश्वासको मत लिइसक्नुपर्छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्षको पनि मत खसेपछि सर्वोच्च अदालतले उनलाई पदमुक्त गरिदिएको थियो।

त्यसपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका नेता कार्की मुख्यमन्त्री भएका थिए। तर अहिले पनि कार्कीले विश्वासको मत पाउने सम्भावना कम छ।

प्रदेशसभामा एमालेका ४० सांसद छन्। तर उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गर्दा मतदान गर्न मिल्दैन। दनुवारले मत नहालेपछि एमालेका ३९ मात्रै सांसद कार्कीको पक्षमा हुनेछन्।

एमालेको गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पनि छ। तर राप्रपाले कार्कीले विश्वासको मत पाउने आधार भएमा साथ दिने जनाएको छ। राप्रपाले मत दिँदा पनि कार्कीको पक्षमा ४५ मत मात्रै हुन्छ। ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद चाहिन्छ।

यदि विश्वासको मत पाउन नसकेमा कार्कीले पदबाट राजीनामा दिन सक्नेछन्। कार्कीले यसअघि विश्वासको मतका लागि एकीकृत समाजवादीसँग पनि संवाद गरेको थियो। तर बुधबार मात्रै समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको गठबन्धनबाट दायाँबायाँ नहुने बताएका छन्।

कार्कीले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ५ बाट सरकार बनाउनुपर्ने हुन्छ। जहाँ प्रदेशसभाको जुनकुै सदस्यले बहुमत सांसदको हस्ताक्षर जुटाएर मुख्यमन्त्री हुन सक्छन्। प्रदेशसभा सदस्यहरुलाई दलीय ह्विप नलाग्ने हुँदा जुनसुकै दलले सरकार बनाउन सक्छन्।

Facebook Comments Box