सामाजिक सद्भाव विथोल्नेविरुद्ध कडा कारबाही गर्ने सर्वदलीय बैठककाे निर्णय

सर्लाही, ५ असोज – सर्लाही सदरमुकाम मलंगवामा धार्मिक समूहको नाममा साम्प्रदायिक सद्भाव विथोल्ने ढंगले भइरहेका गतिविधिविरुद्ध स्थानीय प्रशासन कडा रुपमा प्रस्तुत हुने भएको छ।

शुक्रबार दिउँसो मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक, सांस्कृति तथा सामाजिक सद्भाव विथोल्ने अराजक तत्त्व विरुद्ध कडा प्रशासनिक कदम चाल्ने निर्णय गरेको हो।

बैठक प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको थियो। जसमा सर्लाहीबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री हरिप्रसाद उप्रेती, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, रास्वपा, राप्रपा लगायत सबैजसो राजनीतिक दलका नेता, जनप्रतिनिधि, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए।

बैठकले मलंगवा क्षेत्रका सबै मूर्तिहरु आज साँझ एकै ठाउँमा राखेर विसर्जन गर्ने, घटनाका दोषीलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्ने, ब्रम्हपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्त्वको पहिचान गरी पक्राउ गर्ने, घटनामा संलग्नहरुको शुक्ष्म ढंगले पहिचान गरी उनीहरुबाटै मानवीय तथा भौतिक क्षतिको क्षतिपूर्ति भराउने लगायतका निर्णय गरेको सर्लाहीका सीडीओ इन्द्रदेव यादवले जानकारी दिए।

सर्लाही सदरमुकाम मलंगवामा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा उत्पन्न विवादले उग्र रुप लिएपछि बिहीबार रातिदेखि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युकै बीचमा मलंगवामा सर्वदलिय तथा सर्वपक्षीय बैठक भएको हो।

Facebook Comments Box