वरिष्ठ पत्रकार भैरव रिसालद्धारा लिखीत ‘भैरव दाई’ को बिमोचन
काठमाडौं, २७ साउन – वरिष्ठ पत्रकार भैरव रिसालद्धारा लिखीत ‘भैरव दाई’ को बिमोचन गरिएको छ । रिसालको ९६औँ जन्मोत्सवको अवसर पारेर आज एक भब्य कार्यक्रमकाबीच मानवअधिकारकर्र्मी गौरीशङ्करलाल दासले ‘भैरव दाई’को बिमोचन तथा लोकार्पण गर्नुभएको हो ।
पुस्तकमा वरिष्ठ पत्रकार भैरव रिसाले जीवनमा प्राप्त गरेको उपलब्धि संगै रिसालको आत्मकथा समेटिएको छ । त्यसबाहेक पत्रकार बन्नुका कारण, पत्रकारिता गर्दैगर्दाका अनुभव, जेल जीवन र राजनिति, राजाहरुसंगका भ्रमणका साथै विभिन्न पत्रिका, राष्ट्रिय समाचार समिति र नेपालमा वातावरण पत्रकारिता गर्दाको अनुभव पनि पुस्तकमा समावेस गरिएका छन् ।
बिमोचन कार्यक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, राष्ट्रियसभा सदस्य वामदेव गौतम, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, एमाले सांसद रघुजी पन्त र सूर्य थापा, नेकपा मालेका महासचिव सिपी मैनाली, सीमाविद् बुद्धिनारायण श्रेष्ठलगायत विशिष्ठ व्यक्तित्वले रिसालको सुस्वास्थ्य, दीर्घायु र सक्रिय जीवनको शुभकामना दिनुभएको थियो ।
वि.सं. १९८५ सालमा भक्तपुरको गुण्डु गाविसमा जन्मिनुभएका रिसालले लुभु पाठशालामा संस्कृतको प्रारम्भिक अध्ययन गर्नुभएको थियो । निम्न माध्यमिक तहको अध्ययन पूरा गरेपछि तीनधारा पाठशाला हुँदै बनारसबाट संस्कृतमा आचार्यसम्मको अध्ययन उहाँले गर्नुभएको छ । भैरव रिसाल नेपालमा वातावरण पत्रकारिताको अग्रज अभियानकर्ता हुन् ।
धेरै समय हालखबर राष्ट्रिय दैनिकमा काम गरिसकेपछि रिसालले निजीस्तरको न्युज एजेन्सी ‘सगरमाथा संवाद समिति’, त्यसपछि राष्ट्रिय समाचार समितिमा समाचारदाता, प्रमुख समाचारदाता हुँदै केही समय सम्पादक भई २०४१ सालमा राजीनामा गर्नुभएको थियो । ०४७ यता उहाँ स्वतन्त्र पत्रकारका रूपमा सक्रिय रहनुभएको छ ।
पत्रकारितामा उत्कृष्ट योगदान पुर्याएवापत उहाँ राष्ट्रिय पत्रकारिता पुरस्कार, हृदयचन्द्र सिंह पत्रकारिता पुरस्कार, प्रजातन्त्र स्वतन्त्रता सेनानी पत्रकारिता सम्मान तथा वातावरण पत्रकारितामा योगदान गरेवापत डब्लूडब्लूएफको अब्राहम कन्जरभेसन अवार्ड, विज्ञान प्रविधि प्रवद्र्धन पुरस्कार, जगदम्बाश्री पुरस्कारलगायतका अनेकौँ साना ठूला पुरस्कारबाट सम्मानित भईसक्नुभएको छ ।
अर्जुन धामी