भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियाे

काठमाडौँ, १० असार – भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । भारतसँग हारको श्रृंखलाले लगातार चौथो खेलसम्म निरन्तरता पाउँदा नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो ।

भारतसँग २-० को नतिजामा पराजित भएपछि साविक उपविजेता नेपालले एक खेलअघि नै समूह चरणबाट बाहिरिएको हो । भारतको जितमा ६१ औं मिनेटमा सुनिल क्षेत्री र ७० औं मिनेटमा महेश सिंह नाओरेमले गोल गरे । ६१ औं मिनेटमा साहल अब्दुल सामदको क्रसमा सुनिलले ट्याप इन गोल गरे । भारतका लागि उनको यो ९१औं अन्तर्राष्ट्रिय गोल हो भने जारी साफमा चौथो गोल हो ।

७० औं मिनेटमा सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरणकुमार लिम्बुले पूर्ण रुपमा बचाउन नसक्दा बारमा लागेर बाउन्स भएको थियो । त्यसैमा नेपाली डिफेण्डरले क्लियर गर्न नसकेको बलमा महेश सिंह नओरेमले हेडमार्फत गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।

त्यसपछि नेपालले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन र पराजित भयो । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतसँग अहिलेसम्म खेलेका ९ मध्ये ८ खेलमा पराजय ब्यहोरेको छ । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा मात्र नेपालले भारतलाई हराएको थियो । त्यसयता भएका साफ च्याम्पियनसिप र अन्य प्रतियोगिता गरी कुल ११ खेलमा नेपाल भारतसँग जितविहीन छ ।

शनिबार बेंगलुरुस्थित श्री कान्तिरवा स्टेडियममा नेपालले कुवेतविरुद्ध खेलेको टिममा तीन परिवर्तन गर्दै विमल घर्ती मगर, आयुष घलान र देवेन्द्र तामाङलाई पहिलो रोजाईँमा खेलाउँदा पहिलो हाफमा सन्तोषजनक प्रदर्शन गरेको थियो, तर गोल भने गर्न सकेन ।

मिडफिल्डबाट केही बल निस्किएपनि नेपालको फिनसिङ चुस्त हुन सकेन । विमल र मनिषले गोल गर्ने अवसर गुमाउँदा एरिक विष्टको प्रहार भारतीय गोलकिपर गुरिप्रित सिंह सान्धुले बचाएका थिए । पहिलो खेलमा पाकिस्तान विरुद्ध ह्याट्रिक गरेका भारतीय कप्तान सुनिल क्षेत्रीलाई भने नेपाली डिफेण्डर खुलेर खेल्न दिएनन् ।

भारतले भने पाकिस्तानविरुद्ध खेलेको टिमबाट पहिलो रोजाईँमा ८ खेलाडी परिवर्तन गरेको थियो । पहिलो हाफमा सट अन टार्गेट राख्न नसकेको भारतले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै दुई गोल गर्‍यो । यस नतिजापछि लगातार दुई खेल जितेका भारत र कुवेत अन्तिम खेलअघि नै समूह ए बाट सेमिफाइनल प्रवेश गरेका छन् ।

नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएको थियो भने भारतले पाकिस्तानलाई ४-० ले पराजित गरेको थियो । भारत र कुवेत दुवैको समान ६ अंक छ । नेपाल र पाकिस्तान भने समूह चरणबाट बाहिरिएका छन् । अब नेपाल र पाकिस्तानबीच आउने मंगलबार हुने खेल औपचारिकता मात्र हुनेछ ।

नेपाल सन् २०१५ यता साफ च्याम्पियनसिपमा पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो । २०१८ मा ढाकामा सेमिफाइनल पुगेको नेपालले २०२१ मा माल्दिभ्समा फाइनल खेलेको थियो । साफ च्याम्पियनसिपलाई थप प्रतिस्पर्धात्मक बनाउन पहिलो पटक लेबनान र कुवेतलाई आमन्त्रित टिमको रुपमा साफ खेल्न बोलाएको थियो । तर यसपटकको खेलतालिकामा नेपाल कठिन समूहमा परेको थियो ।

नेपालले अहिलेसम्म हराउन नसकेको कुवेत र दक्षिण एसियाको पावर हाउस भारत रहेको समूहमा परेपछि नै नेपालले यस पटक साफमा स्पष्ट लक्ष्य बनाउन सकेको थिएन भने समूह चरण पार गर्ने अपेक्षा पनि थोरैले मात्र राखेका थिए ।खेलको १७ औं मिनेटमा नेपालले भारतीय पोष्टमा पहिलो आक्रमण गरेको थियो ।

लकेन लिम्बुको कर्नर भारतीय डिफेण्डरले हेडमार्फत क्लियर गरेपनि एरिक विष्टले प्रहार गरेको भलि भारतका गोलकिपर गुरप्रित सिह सान्धुले बचाए । २५ औं मिनेटमा डी बक्सभित्र मनिषले विमल घर्तीमगरले उपलब्ध गराएको बललाई पोस्टको दिशा दिन सकेनन् । २९ औं मिनेटमा लकेन लिम्बुको लङ रेन्ज प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।

४० औं मिनेटमा मनिषको क्रसमा विमलले बक्सभित्रबाट वान टच फिनिस गर्न सकेनन् । शनिबारको खेलबाट नेपालका डिफेण्डर सीमान्त थापाले डेब्यु गरे । उनली ६८ औं मिनेटमा सनिस श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए ।

Facebook Comments Box