ताप्लेजुङ पहिरो : सोमबार बिहान वर्षासँगै झरेको पहिरोले सिदिङवा गाउँपालिका ६ मेहेलेमा ४ जना बेपत्ता

ताप्लेजुङ, ४ असार – सोमबार बिहान वर्षासँगै झरेको पहिरोले सिदिङवा गाउँपालिका ६ मेहेलेमा ४ जना बेपत्ता भएका छन् । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । तर उनीहरुको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन् । जिल्ला समन्वय समितिका सदस्य कला कडरियाका अनुसार ६५ वर्षीय केशरकुमार राई बेपत्ता भएका हुन् ।

पहिरोमा परेका ४५ वर्षका राजकुमार र ३१ वर्षका सुरेश गम्भीर घाइते भएका छन् । उनीहरुलाई पहिरोबाट निकालिएको कडरियाले बताइन् । घर छेउमा रहेको गाडी सुरक्षित गर्न निस्कने क्रममा झरेको पहिरोले तीनै जनालाई बगाएको थियो । पहिरोमा परी आइतबार मेहेलेकै गणेश तामाङको मृत्यु भएको छ भने वर्ष ६३ का भगीमाया, ३३ वर्षकी सन्ध्या र ९ वर्षका प्रज्ज्वल बेपत्ता रहेका छन् ।

पहिरोका कारण सयौं परिवार समस्यामा परेको तर उनीहरुलाई सुरक्षित ठाउमा सार्न कठिन भइरहेको सिदिङवा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरियाले बताइन् । मेहेलेको स्वास्थ्य चौकी आइतबारको पहिरोले बगाएको कारण घाइतेको प्राथमिक उपचारमा समेत समस्या रहेको स्थानीयले बताएका छन् ।

Facebook Comments Box