नेपाललाई मलेसियाविरुद्धको सिरिज
काठमाडौँ, २१ जेठ – घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-ट्वान्टी महिला सिरिजमा जित हात पारेको छ । घरेलु टोलीलाई ३ विकेटले पराजित गर्दै नेपालले पाँच खेलको सिरिज ३-२ ले जितेको हो । घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाईन् । नेपालले पहिलो ओभरमा ओपनर कविता कुँबरलाई व्यक्तिगत ४ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि सीता रानामगर र ईन्दु बर्माले १५ रनको साझेदारी गरेका थिए । बर्माले ९ बलमा ५ रन बनाएकी थिइन् ।
सीता र कप्तान रुबिना क्षेत्रीले २६ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । कप्तान रुबिनाले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डे ११ रनमा अविजित रहिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो । घरेलु टोलीका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाईन् । विनिफ्रेड दुराईसिंघमले २५ बलमा २४ तथा महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाईन् । नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिईन् ।
पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।

