दाङको देउखुरीमा दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु ,२३ जना घाइते
काठमाडौँ, ५ जेठ – दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन् । दुर्घटना बिहान करिब ५ः३० बजेको समयमा भएको थियो । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ निवासी ४२ बर्षीया सोभा परियार रहनु भएको प्रहरीले जानकारी दिएको छ।
सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका-३ फल्कापुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।
बारा जिल्लाबाट इँटा भट्टामा काम गरेर घर रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुनुभएको छ । दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन् ती मध्य ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ । घाइतेहरूलाई उपचारका लागि बुटवल र नेपालगन्ज रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभएको छ ।

