आज पनि देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, २१ वैशाख – आज पनि देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसो त अहिले पनि गण्डकी प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। अन्य ठाउँमा भने यतिबेला पानी परेको देखिएको छैन। तर मौसम देशभर सामान्य बदलीको अवस्थामा रहेको मौसमविद् लामिछानेले बताए।
आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी क्षेत्रका थोरै स्थान तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसमविद् लामिछानेका अनुसार आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना छ। बेला बेला घाम पनि देखिनसक्छ। आज राति पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
मौसमविद् रोजन लामिछानेका अनुसार क्रमशः मौसम सुधार हुने क्रममा छ। ‘पश्चिमबाट मौसम सुधार हुँदै आएको देखिन्छ, धनगढीतिर अहिले मौसम खुलेको देखिएको छ’, उनले भने, ‘अझ भोलिबाट थप मौसम सुधार हुने सम्भावना छ।’ उनले थपे, ‘यसो भनेर पानी नै पर्दैन भन्ने होइन, यो प्रिमनसुनको सिजनमा दिउँसो दिउँसो बादल बन्ने, मेघगर्जन हुने र हल्काफुल्का वर्षा हुने क्रम त जारी रहन्छ, तर २/४ दिनअघिको जस्तो वर्षाको सम्भावना छैन।’

