आज देशका पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं, ६ वैशाख – आज देशका पहाडी भेगमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ।
यस क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पनि पहाडी क्षेत्रकै एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ। आज पनि काठमाडौँ उपत्यकालगायत देशका केही स्थानमा तुवाँलो लागिरेहेको छ। विज्ञका अनुसार तुवाँलो लाग्दा वायू प्रदूषणको मात्रा बढ्ने भएकाले घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्छ।
महाशाखाका अनुसार आज राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। यस क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पनि पहाडी क्षेत्रकै एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।

