निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घट्यो
काठमाडौँ, २२ चैत – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो। निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो।
सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ। यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र रु सात हजार पाँच सय १० तिर्नुपर्थ्यो भने अब रु सात हजार ७० भाडा कायम गरिएको छ।काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा रु तीनसय ४५ घटेर अधिकतम भाडा रु पाँच हजार चार सय ९० कायम भएको छ।
काठमाडौँ–भद्रपुर रुटमा रु तीन सय, विराटनगरमा रु दुई सय ४०, जनकपुरका लागि रु एक सय ३०, पोखराका लागि रु एक सय ५५, भरतपुरका लागि रु एक सय १०, भैरहवाको रु दुई सय पाँच, नेपालगञ्जका लागि रु एक सय ८५ र सुर्खेतका लागि रु तीन सय ४५ हवाई भाडा घटेको छ।



