सीआईबीले स्पट फिक्सिङको अनुसन्धान सक्यो

काठमाडौं, ३ फागुन – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत पुसमा सम्पन्न नेपाल टी २० लिगमा भएको स्पट फिक्सिङको अनुसन्धान प्रतिवेदन बुझाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले सीआईबीले प्रतिवेदन बुझाएको पुष्टि गरे। ‘सीआईबीले प्रतिवेदन बुझाइसकेको छ। हामीले हेर्न बाँकी छ। हामी अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्छौं’, नेउपानेले भने।

एसपी सञ्जयसिंह थापाले १२ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाइएको बताए। ‘हामीले ३ जनाव्यक्ति पक्राउ गरेका थियौँ। १२ जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएका छौँ’, उनले भने।

प्रहरीले स्पट फिक्सिङको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेहबुब आलम, आदिल अन्सारी र नितेश गुप्तालाई पक्राउ गरेको छ। अहिलेसम्म ३ नेपाली र ६ भारतीय फरार छन्।

उनीहरुलाई राष्ट्रिय खेलकुद विकास ऐन अनुसार ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्न माग गरिएको छ। खेलको स्वभाविक नतिजा फेरवदल गर्न चलखेल भएको र खेलमा मिलेमतो गर्न दुरुत्साहन गर्ने किसिमका गतिविधि भएको एसपी थापाले बताए।

Facebook Comments Box