काठमाडौँ मा स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सीको कारोबार
काठमाडौँ, १६ माघ – काठमाडौँ मा स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिरा बिक्रीवितरण हुँदै आएको खुलासा भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्क्ली मदिरा उत्पादन र बिक्रीवितरणमा संलग्न ३ जनालाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो। विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ गरी सार्वजनिक गरिएकामा ललितपुरको कुपन्डोलस्थित नेक्स्ट टेस्ट लिक्विरका सञ्चालक दोलखाका निरज उप्रेती, गोंगबुको मित्रनगरको एसटी लिक्विर स्टोरका सञ्चालक स्याङ्जाका धर्मी पौडेल र सिन्धुली घर भई ललितपुरको टिकाथली बस्ने गणेशबहादुर रानामगर छन्।
गत माघ १३ गते नेक्स्ट टेस्ट लिक्वायर स्टोरमा प्रहरीले छापा मारेको थियो। त्यहाँबाट नक्कली खुकुरी रम फेला पर्यो भने प्रहरीले अनुसन्धानलाई अघि बढाउँदा ललितपुरको महालक्ष्मी नगरपालिका–५ स्थित टीकाथलीको विभिन्न स्थानहरुमा विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका मदिराको नाम दिई नक्कली मदिरा बनाउने गरिएको फेला परेको पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा। मनोज केसीले जानकारी दिए।
‘कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका मदिराहरुको खाली बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेबलिङ एवं प्याकेजिङ गर्ने मेसिनलगायत अन्य विभिन्न सामग्री बरामद गरिएको छ’, उनले भने।
प्रहरीले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र रुस्लान भोड्का १३२ बोतल बरामद गरेको छ। ‘डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतल पनि बरामद भएको छ’, केसीले भने। थप अनुसन्धान गर्ने क्रममा प्रहरीले मित्रनगरस्थित एसटी लिक्वियर स्टोरमा समेत खानतलासी गर्दा गुणस्तरहीन नक्कली ब्रान्डका मदिरा भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये रानामगर कारखाना सञ्चालकमध्येका एक हुन्। उनीसहित विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरि ओली, मनोज खत्री, गौरव तामाङ, गोपीकृष्ण श्रेष्ठलगायतले जस्ताको टहरा भाडामा लिएर नक्कली मदिरा बनाएर बिक्रीवितरण गर्ने गरेको खुलेको छ। कार्की, पुन मगर र तामाङ फरार छन्। अन्य भने पक्राउ परिसकेका छन्।

