चिसोले बढायो वायु प्रदूषणको जोखिम

विराटनगर, ८ पुस – पुसको चिसो बढेसँगै विराटनगर नगर क्षेत्रभित्र वायु प्रदूषणको जोखिम बढेको छ । चिसो बढेपछि नगर क्षेत्रका अधिकांश खुल्ला ठाउँमा आगो बालेर ताप्ने क्रम बढेको छ । आगो बाल्न काठ दाउराबाहेक गोबरको गुइँठा, कागज, प्लाष्टिक, रुवाको प्रयोग गर्ने पाइएको छ ।

काठ दाउरादेखि प्लाष्टिकसम्मको प्रयोग गरी आगो बाल्दा निस्कने धुँवाले नगर क्षेत्रको वायु प्रदूषण ह्वात्तै बढेको छ । विराटनगर महानगरपालिकाअन्तर्गतको वातावरण शाखाकी इन्जिनियर सुदिक्षा कार्कीले सर्वसाधारणले आगो बाल्न दाउराको मात्र प्रयोग नगरेर कागज, प्लाष्टिकजस्ता पदार्थको प्रयोग गर्दा त्यसबाट निस्किने धुँवाले वातावरणमा प्रदूषण फैलिएको बताउनुभयो ।

उहाँले बढ्दो जनघनत्वका कारण नगर क्षेत्रमा सवारी साधनको चाप उल्लेख्यरूपमा बढेको उल्लेख गर्दै वातावरणलाई स्वच्छ राख्न विद्युत्ीय सवारी साधन प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । कार्कीले विराटनगरको वायु प्रदूषण बढ्न नदिनका लागि वृक्षरोपणका कार्यक्रमदेखि सचेतना फैलाउनेसम्मको काम निरन्तर गरिँदै आएको बताउनुभयो ।

“आगो बालेर ताप्नुभन्दा न्यानो कपडा लगाउनेतर्फ ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । चिसोमा प्रदूषणबाट बच्न अनावश्यक घरबाट बाहिर ननिस्कन, धुलो धुँवा उड्ने खालको निर्माण व्यवसाय सञ्चालन नगर्न, खुल्लामा आगो नताप्न, फोहर वस्तु नजलाउनेसमेत कार्कीले सुझाव दिनुभयो ।

Facebook Comments Box