चिसो बढ्दो, तराईमा हुस्सु/कुहिरो
काठमाडौँ, २० मङ्सिर – देशभर दिनप्रतिदिन चिसो बढिरहेको छ। बिहानीपख पहाडी क्षेत्रमा चिसो हुने गरेको छ भने तराई क्षेत्रमा हुस्सु/कुहिरो लाग्ने गरेको छ। अहिले पश्चिम र मध्य तराईमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। ‘तर घाम लागेपछि बिस्तारै हट्दै जान्छ’, उनले भनिन्।
तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध छ। महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा सामान्यतया सफा रहनेछ। राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगलगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज प्रदेश नम्बर १ र गण्डकी प्रदेशका हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना पनि रहेको मौसमविद् महर्जनले बताइन्।

