अब बन्ने एमाले सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ : ईश्वर पोखरेल

काठमाडौं, २३ कात्तिक – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अब चुनावपछि बन्ने एमालेको सरकारले बृद्धभत्ता पाँच हजार पुर्याउने बताएका छन्।

तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरु पार्टीको निकै विरोधका बाबजुद पनि आफूहरुले बृद्धाभत्ता सुरुवात गरेको उनले बताए।

काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले बृद्ध–बृद्धालाई भत्ता दिन सुरुवात गरेको बताए।

ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी नेकपा एमाले भएको उनले दाबी गरे। पोखरेलले भने, ‘अन्य दलका कयौँ विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रूपैयाँ भत्ता दिन सुरू गरेका थियौँ।

तर, कांग्रेस लगायत पार्टीले यसरी भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरेका थिए। तर, ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि स्थापित गरिएको छ। ज्येष्ठ नागरिकहरू आज समाजमा सम्मान र इज्जतका साथ बाँचिरहनुभएको छ।’

केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रूपैयाँ पुर्याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ। पोखरेल २०५१ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए।

Facebook Comments Box