संघ र प्रदेशबाट इजाजत लिएका व्यवसाय पनि महानगरमा दर्ता गर्नुपर्ने, ३० दिने अल्टिमेटम
काठमाडौं, १ कात्तिक – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र संचालन भएका व्यापार व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न सूचना जारी गरेको छ। मंगलबार (१ कात्तिक) मा एक सूचना जारी गर्दै महानगरपालिकाको राजश्व विभागले संघीय र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरु समेतले महानगरपालिकामा व्यवसाय दर्ता गर्न आग्रह गरेको हो। साथै, महानगरपालिकाले अनुगमनको क्रममा दर्ता नगरी व्यवसाय गरेको पाइएमा व्यवसाय बन्द गरी जरिवाना गरिने जनाएको छ।
‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरू (सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेत) ले महानगरपालिकामा व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्नुहुन अनुरोध छ।’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ।
साथै, व्यवसाय कर समेत ०७२/०७३ लाई आधार मानेर असुल गरिने महानगरले जनाएको छ। ‘महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौँ महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा ९ग० बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने व्यहोरा सम्बन्धित सबैमा यो सूचना प्रकाशन गरिएको छ।
साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची–७ को बँदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२/०७३ लाई आधार वर्षका रूपमा लिई व्यवसाय कर असुली गरिने व्यहोरा समेत सार्वजनिक रूपमा जानकारी गराइएको छ।’

