कांग्रेस, माओवादी र समाजवादीका मन्त्रीले सामूहिक रूपमा राजीनामा दिन तयारी

काठमाडौं, २८ असोज – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरूले तत्काल राजीनामा नदिए मुख्यमन्त्रीले पदबाट बर्खास्त गर्ने बताएका छन् ।

केन्द्र सरकारले जसपाका मन्त्रीहरूलाई आज पदबाट बर्खास्त गरेपछि मधेस प्रदेश सरकारले पनि  शुक्रबार सम्म नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ६ जना मन्त्रीलाई पदबाट बर्खास्त गर्ने तयारी गरेको यादवले बताएका हुन् ।

‘मुख्यमन्त्रीले बर्खास्त गर्नुभन्दा पहिले नै उहाँहरूले स्वविवेक प्रयोग गरेर राजीनामा दिनुभयो भने उपयुक्त हुन्छ, होइन भने मुख्यमन्त्री आफैले बर्खास्त गर्न बाध्य हुनुपर्छ,’ उनले भने । जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारमा कांग्रेसबाट ३ जना , माओवादी केन्द्रबाट राज्यमन्त्री सहित २ र नेकपा एसबाट १ गरी ६ जना मन्त्री रहेका छन् ।

कांग्रेसबाट मन्त्री हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा रहेका छन् । माओवादी केन्द्रबाट भने आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्रीमा सोही मन्त्रालयकी रुवि कर्ण र नेकपा एसको तर्फबाट उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र वन राज्यमन्त्री नागेन्द्र राय यादव छन् ।

मधेस प्रदेश सरकारले  मन्त्रीहरूलाई बर्खास्त गरे पनि निर्वाचन आचारसंहिताका कारण नयाँ मन्त्री भने नियुक्त गर्न मिल्दैन । मधेस प्रदेश सरकार उद्योग,पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले शुक्रवार बिहानै सामूहिक रूपमा राजीनामा दिने बताएका छन् । ‘मुख्यमन्त्रीले बर्खास्त गर्नुभन्दा पहिले नै सामूहिक रूपमा राजीनामा दिन हामी तयार छौँ,’ वनमन्त्री महतोले भने ‘माथि केन्द्रमा जसपालाई निकालेपछि हामीलाई प्रदेशमा हटाउनु स्वाभाविक हो, हामी राजीनामा दिन्छौँ ।’

Facebook Comments Box