गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

काठमाडौं , ९ असोज – पश्चिमी सीमा नाका गड्डाचौकीबाट भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कोरोना महामारीपछि बन्द रहेको नाका खुलेसँगै पछिल्लो समय भारत हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दो रहेको छ ।

गड्डाचौकी नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढ्दो रहेको अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्ट बताउनुहुन्छ ।“यहाँबाट अहिले तेस्रो मुलुकका नागरिकलाई प्रस्थान बन्द गरिएको छ, विदेशी पर्यटक भित्रिने क्रम भने बढ्दो छ”, उहाँले भन्नुभयो, “कोरोना नियन्त्रणसँगै नाका खुलेपछि नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।”

अध्यागमन कार्यालय गड्डाचौकीको तथ्याङ्कअनुसार आठ महिनाको अवधिमा एक सय ९३ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२१ मा ५८ जना पर्यटक गड्डाचौकीबाट भित्रिएका थिए ।

सन् २०२२ को जनबरीमा १५, फेब्रोरीमा सात, मार्चमा २९, अप्रिलमा २२, मेमा २२, जुनमा २९, जुलाइमा २८ र अगष्टमा ४१ जना तेस्रो मुलुकका नागरिक भित्रिएको अध्यागमन अधिकृत भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन् । उक्त नाका भएर नेपाल भित्रिनेमा फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक बढिरहेका छन् ।

Facebook Comments Box