प्रतिनिधि सभामा लगभग सहमति जुट्यो, १६/१७ क्षेत्रमा मात्र मिल्न बाँकी

काठमाडौं , ९ असोज – सत्ता गठबन्धन दलले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ४८ क्षेत्रको बाँडफाँटमा सहमति जुटाएका छन्। बाँकी १७ क्षेत्रको सहमति जुटाउन प्रदेश सभातर्फका ३३० क्षेत्रबारे अहिले छलफल भइरहेको छ।

‘प्रतिनिधि सभामा लगभग सहमति जुट्यो, अब १६/१७ क्षेत्रमा मात्र मिल्न बाँकी छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘बाँकी क्षेत्रमा सहमति जुटाउन प्रदेश सभाको क्षेत्र बाँडफाँटमा छलफल भइरहेको छ।’ आइतवार बिहानदेखि नै नेताहरु छलफलमा जुटेका हुन्। ती नेताका अनुसार मधेश प्रदेशमा अलिक धेरै सिट मिल्न बाँकी छ।

त्यस्तै कर्णालीका केही, बागमती प्रदेश र गण्डकी तथा प्रदेश १ को पनि केही क्षेत्रमा सहमति हुन बाँकी छ। मिलिसकेका स्थानमध्ये नेपाली कांग्रेसले ७५, माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादीले १५, जनता समाजवादी पार्टी (जसपा) १२ र राष्ट्रिय जनमोर्चाले १ सिट पाउने निश्चित छ।

तर, कांग्रेस ९०, माओवादी ५०, एकीकृत समाजवादी २५ र जसपा २२ पाउनुपर्ने बताइरहेका छन्। राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ। अब मिल्न बाँकी सिट जम्मा १७ मात्रै छ। अन्यमा लगभग सहमति भइसकेको छ। सहमति जुट्न नसकेका स्थानमा द्विपक्षीय छलफल पनि भएको छ।

‘केही क्षेत्रमा द्विपक्षीय, केहीमा त्रिपक्षीय दाबी छ, ती ठाउँमा दाबी गर्ने दुई दलहरु बसेर छलफल गर्नुभएको छ,’ ती नेताले थपे, त्यस्ता क्षेत्रमा प्रदेशकोसँगै सहमति हुनपनि सक्छ।’ मंसिर ४ गतेको लागि तय भएको प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रमा गठबन्धनका पाँच दलले सिट बाँडफाँट गर्न लागेका हुन्।

Facebook Comments Box