फोहोर व्यवस्थापनबारे छलफल गर्न ककनीमा तीन जिल्लाका सीडीओको बैठक
काठमाडौं, १ भदौ – बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा भइरहेको असहज परिस्थितिबारे छलफल गर्न नुवाकोटको ककनीमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जनप्रतिनिधिबीच छलफल भइरहेको छ ।
छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी छन् ।
काठमाडौंका प्रजिअ रिजालका अनुसार छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल लगायत सहभागी छन् । छलफल बुधबार दिउँसो २ बजेदेखि जारी छ ।
‘बुधबार दिउँसो २ बजेदेखि छलफल चलिरहेको छ । छलफलले आजै केही निचोड दिने अपेक्षा गरेका छौं’ प्रजिअ रिजालले भने ।

