श्रीलङ्काका पूर्व राष्ट्रपति गोताबाय राजपाक्ष माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्ने
काठमाडौँ, ३० असार – श्रीलङ्काका पूर्व राष्ट्रपति गोताबाय राजपाक्ष माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्ने भएका छन्। बुधबार सबेरै बिहान श्रीलङ्काको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले गएका राजपाक्ष मालेमा एकदिन पनि पूरा नबसी बुधबार राति सिंगापुर प्रस्थान गर्ने कार्यक्रम थियो। तर, उनी बिहीबार सबेरसम्म पनि सिंगापुरको लागि प्रस्ताव नगरेको डेलि मिररले उल्लेख गरेको छ।
देशभित्रै असुरक्षा भएको भन्दै भागेका राजपाक्षलाई भाग्नका लागि श्रीलङ्काको सेनाले नै सहयोग गरेको छ। सेनाकै जहाजमा उनी कोलम्बोबाट माले पुगेका हुन्। यसअघि उनकै अर्का भाइ तथा पूर्व अर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ।
तत्कालीन राष्ट्रपति राजापाक्षलाई भने रक्षा मन्त्रालयको आदेश र स्वीकृतिमा माल्दिभ्स लगिदिएको श्रीलङ्काको सेनाले जनाएको छ। सेनाले आफू खुशी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ। राजपाक्षसँगै उनकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन्।
उनीहरु चारै जनालाई श्रीलङ्काको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तरराष्ट्रिय विमानस्थल माले लगिएको थियो। राजपाक्षले देश छाडेको खबरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलङ्कामा अहिले आपतकालीन अवस्थाको घोषणा गरिएको छ।
प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपतकालीन अवस्थाको घोषणा गरेका हुन्। यद्यपि बुधबार प्रदर्शनकारीले प्रधानमन्त्री निवासलाई नै आफ्नो कब्जामा लिएका छन्।

