प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
काठमाडौँ, २३ असार – प्रतिनिधि सभाको बैठक आज (बिहीबार) पनि बस्दै छ। संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठक दिउँसो २ बजे सुरु हुनेगरी बोलाइएको छ। त्यसका लागि सम्भावित कार्यक्रमको सूची पनि सार्वजनिक गरिएको छ।
जसअनुसार आजको संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने कार्यक्रम छ। यस्तै गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। कार्यसूचीअनुसार आजको बैठकमा सभामुख अग्निप्रसाल सापकोटाले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ सम्बन्धी समितिको प्रतिवेदन र विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
गृहमन्त्री बालकृष्ण खाँणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् भने खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको खानेपानी तथा सरसफाइ विधेयक, २०७५ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यक्रममा उल्लेख गरिएको छ। साथै मन्त्री चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ छलफल र पारितका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यक्रम रहेको संघीय संसद्का महासचिव गौतमले जानकारी दिएका छन्।

