आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि १० अर्ब खर्च हुने अनुमान

काठमाडौं, २२ असार – आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि १० अर्ब खर्च हुने अनुमान भएको छ। निर्वाचन आयोगले हालको प्रारम्भिक अनुमान अनुसार १० अर्ब खर्च हुनसक्ने बताएको हो।

२०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १६५ समेत गरी जम्मा ७ अर्व ८० करोड खर्च भएको आयोगले बताएको छ।

हाल तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा भएको वृद्धि, मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदानकेन्द्रहरुको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनु पर्ने अवस्था, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा हुने खर्च, हालको बजार मूल्य, ढुवानी खर्च र ज्याला दररेटमा भएको वृद्धि र मुद्रा स्फिति समेतका कारणबाट खर्च बढ्ने बताएको आयोगले जनाएको छ।

आज प्रधानमन्त्री समक्ष आयोगले खर्च अनुमानको विवरण समेत बुझाएको हो। निर्वाचन आयोगले आगामी मंसिर २ गते संघ र प्रदेशको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ।

Facebook Comments Box