शैक्षिक गुणस्तरका लागि सघाउन दातृ निकायलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौं, ६ जेठ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने सरकारको योजनामा सघाउन दातृ निकायका प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

विकास साझेदारीका प्रतिनिधि एवं विज्ञहरुसँगको शुक्रबार आयोजित प्रि–बजेट समीक्षा बैठकमा मन्त्री पौडेलले विद्यालयमा सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट शैक्षिक प्रशासन एवं शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न लागिएकाले समयबद्ध रूपमा विद्यालय, शिक्षालय एवं उच्च शैक्षिक संस्थाको पूर्वाधार पूरा गर्ने योजनाका साथ अघि बढेको सुनाउनुभयो ।

“शिक्षक दरबन्दी, शैक्षिक गुणस्तर र विद्यालयको भौतिक संरचना बनाउने योजनाका साथ अघि बढेका छौँ”, मन्त्री पौडेलले भन्नुभयो, “यी कार्यहरू पूरा गर्न आगामी तीन वर्ष लाग्न सक्छ । यसमा दातृ निकायले सहयोग गर्नुप¥यो ।”

मन्त्री पौडेलले प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकासको कार्यमा पहुँच र गुणस्तर बढाउन प्रत्येक स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालयको पहुँच विस्तार गर्न र सिकेको ज्ञान र सीपलाई रोजगारी र आर्यआर्जनसँग आबद्ध गर्ने गरी सिक्दै कमाउँदै कार्यक्रम परीक्षण रूपमा कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

मन्त्री पौडेलले बदलिँदो परिवेशअनुकूल शैक्षिक गुणस्तर सुधार हुने गरी विद्यालय शिक्षा सुधार योजना तयार गरिएको बताउनुभयो । विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विषय र शिक्षक र अभिभावक बीचमा निरन्तर संवाद गर्ने विषयहरुसमेत सुधारको प्राथमिकताका क्षेत्रहरु रहेको बताउँदै उहाँले शिक्षकको पेसागत सहयोग र जवाफदेहिता कार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

बैठकमा विकास साझेदारीका प्रतिनिधिहरुले भूकम्पपछि विद्यालय पुनः निर्माण, शिक्षा र शिक्षण सिकाइ प्रक्रियाका लागि सहयोग गर्दै आइरहेको बताएका थिए ।

 

Facebook Comments Box