बुटवलमा बुधबार राति बम विस्फोट भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा

रुपन्देही, २९ वैशाख – रुपन्देहीको बुटवलमा बुधबार राति बम विस्फोट भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ। बुटवल–९ मिलनचोकस्थित आकासे पुलमुनि हिजो बेलुका साढे ८ बजे प्रेसरकुकर बम विस्फोट भएको हो।

घटनास्थलमा नेकपा माओवादी केन्द्रीय प्रचार विभाग लेखिएको पर्चा भेटिएको छ। बम विस्फोटबाट मिलनचोकको बी एलाभेन रेस्टुरेन्टका झ्यालका सिसा चर्केका छन्। त्यस्तै पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको दुईवटा सटरमा प्वाल परेका छन्। प्रहरीका अनुसार मानिसलाई केही भएको छैन।

बम विस्फोटपछि सुरक्षाका सबै निकाय सतर्क रहेको र संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रविन्द्र रेग्मीले बताए। ‘सम्भावित सार्वजनिक ठाउँमा हामीले सतर्कता अपनाएका छौं। सडक, आकासेपुल प्रतीक्षालयहरूमा निगरानी बढाएका छौं’, उनले भने, ‘मतदान स्थल वरपर पनि सुरक्षा सतर्कता बढाएका छौं।’

Facebook Comments Box