प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनमा उजुरी

काठमाडौं, २१ वैशाख – प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनमा उजुरी परेको छ। चुनावी सभा सम्बोधनका लागि भरतपुर जान लागेका देउवाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।

अधिवक्ता सुनिता अधिकारीले प्रधानमन्त्रीविरुद्ध आचारसंहिताको विषयमा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले पुष्टि गरेका छन्।

निर्वाचन आचारसंहिता उल्लंघन गरेर चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको उनले बताए। ‘आचारसंहिताको अनुसूची ४ अन्तर्गत एउटा उजुरी परेको छ,’ उनले भने, ‘हामीले निर्वाचन आयोगलाई जानकारी गराइसकेका छौँ।’

निर्वाचन आचारसंहिताअनुसार निर्वाचनमा आफैँ उम्मेदवार भएका अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा प्रचार प्रसार गर्न नपाइने व्यवस्था छ।

प्रधानमन्त्री देउवा बास बस्ने गरी बुधबार चितवन जाँदै छन्। भरतपुर महानगरपालिकाको प्रमुख फेरि नेकपा माओवादी केन्द्रको भागमा परेपछि कार्यकर्तामा चुलिएको असन्तुष्टि मत्थर पार्न देउवा चितवन जान लागेका हुन्।

नेपाली कांग्रेस चितवनले पार्टी सभापतिसमेत रहेका देउवा बास बस्ने गरी जिल्ला आउने कार्यक्रम तय भएको पुष्टि गरेको छ। जिल्ला उपसभापति राजीव न्यौपानेले प्रधानमन्त्री देउवा बुधबार साँझ भरतपुर पुग्ने जानकारी दिए।

सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरको हाकिम चोकमा संयुक्त चुनावी सभा आयोजना गर्दैछ। बिहान ११ बजेबाट सुरु हुने सभालाई प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने बताइएको छ।

चितवनको पाँच दलीय लोकतान्त्रिक गठबन्धनले चुनावी सभालाई कांग्रेस महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरुले पनि सम्बोधन गर्ने प्रचार गरिरहेको छ।

Facebook Comments Box