देउवाले मेयरको उम्मेदवारी फिर्ता भएको पत्र पठाएपछि लालबन्दीमा तनाव

सर्लाही, १७ वैशाख – सर्लाहीको लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालयमा खोलिएको निर्वाचन अधिकृतको कार्यालय अगाडि अहिले नेपाली कांग्रेसका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लालबन्दी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी शुक्रबार साँझ निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएपछि कांग्रेसका नेता कार्यकर्ता त्यसको विरोधमा नाराबाजीमा उत्रिएका हुन् ।

उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट शुक्रबार साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भइसकेको र उम्मेदवारी फिर्ता लिने समय ५ बजेपछि देउवाले पठाएको सो पत्रलाई मान्यता नदिन माग गर्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि पुगेर नाराबाजी गरिरहेका हुन् ।

लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजेपछि प्रकाशित गरेको नामावलीमा कांग्रेसको मेयरका उम्मेदवार बासुदेव अधिकारीको नाम उल्लेख छ । देउवाले पत्र पठाएपनि अधिकारीको उम्मेदवारी कानुनतः फिर्ता हुने अवस्था छैन् । तर प्रधानमन्त्री देउवाले नै उम्मेदवारी फिर्ता भएको भन्दै पत्र पठाएपछि अन्योलता सिर्जना भएको छ ।

शुक्रबार साँझ मात्र लालबन्दीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमति भएको छ । मेयरमा माओवादीले प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीले गोविन्द अधिकारीलाई अघि सारेको छ । कांग्रेसले यदि मेयरमा उम्मेदवारी फिर्ता लिएपनि उपमेयरमा के हुने भन्ने देउवाले पठाएको पत्रमा उल्लेख छैन । यस विषयमा पनि अन्योलता दिएको छ ।

Facebook Comments Box