मकवानपुर एकीकृत समाजवादी अध्यक्षले पत्रकार सम्मेलन गरी पार्टी छाडे

काठमाडौं, १४ वैशाख – स्थानीय तह निर्वाचन आउनै लाग्दा एकीकृत समाजवादीका मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी छोडेका छन्। पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि जनाउँदा पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेका हुन्।

‘पार्टीलाई सामूहिक होइन, प्राइभेट लिमिटेडजस्तो बनाउन खोजियो। हामीले यस्तो गर्न एमालेमा विद्रोह गरेका होइनौं,’ पोखरेलले भनेका छन्। मेयरको टिकटका दाबेदार उनले समाजवादी छाडे पनि एमाले प्रवेश गर्नेबारे कुनै तयारी नरहेको बताएका छन्। ‘एमालेमा जान पनि सकिन्छ तर अहिले तयारी छैन,’ उनले भने।

पोखरेलले ४० वर्षदेखि नेकपा एमालेको राजनीति गरेका थिए। गत वर्ष माधव नेपालले एमाले फुटाउँदा उनी एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। समाजवादीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरमा गठबन्धनबाट मीनाकुमारी लामालाई मेयरमा उठाएको छ।

उनले पार्टी छाड्ने क्रममा स्थानीय तहको भागबण्डा गर्न सत्ता गठबन्धन चुकेको आरोप लगाएका छन्। पोखरेलले जिल्लास्तरीय गठबन्धन संयन्त्र र टिकट वितरणबारे पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्याग घोषणा गरेका हुन्। मकवानपुर स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको गृह जिल्ला पनि हो।

पोखरेलले ८ महिनाअघि समाजवादीको नेतृत्व सम्हालेका थिए। आसन्न स्थानीय तहको निर्वाचनमा उनले हेटौंडा उपमहानगरको मेयर पद दाबि गरेका थिए। अन्तिम समयमा बहालवाला उपमेयर तथा पार्टी उपाध्यक्ष मीनाकुमारी लामाले मेयरको टिकट पाएपछि उनी थप रुष्ट भएका थिए ।

पोखरेल तत्कालीन एमालेमा रहँदा ओलीनिकट नेता हुन्। उनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग असन्तुष्ट भएर एमाले छाडेका थिए।

Facebook Comments Box