निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने आज सोमबार अन्तिम दिन : आजै अन्तिम नामावली प्रकाशन गरिने
काठमाडौं, १२ वैशाख – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने आज सोमबार अन्तिम दिन हो। हिजो आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म भएको उम्मेदवारको मनोनयन आज सोही समयमा हुनेछ र आजै अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।
पहिलो दिन साना दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरे पनि सत्ता गठबन्धनलगायत प्रमुख दलका तर्फबाट अझै उम्मेदवारी दर्ता भइसकेको छैन। सत्ता गठबन्धनका दल अझै सिट भागबन्डामै अल्झिरहेको छ।
आज मनोनयअघिसम्म बाँडफाँड मिलाउन अधिकत कोसिस गरिने ती दलले जनाएका छन्। त्यसका लागि अहिले बिहान ८ बजे सत्ता गठबन्धनका दलका अध्यक्षहरूबीच छलफलमा बस्ने सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।
उनका अनुसार हिजो साँझ सत्ता गठबन्धनका दलबीच भएको छलफलले पाँच दल बाहिर तालमेल नगर्ने सहमति गरेको छ। यस्तै पहिले भएको समझदारीलाई सबै पक्षले इमान्दारी साथ पालना गर्ने पनि सहमति भएको छ।

