काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारमा नेकपा एमालेले केशव स्थापितलाई उठाउने
काठमाडौं, ८ वैशाख – काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारमा नेकपा एमालेले केशव स्थापितलाई उठाउने भएको छ। २०५४ सालमै काठमाडौं महानगर सम्हालिसकेका स्थापितलाई पाँच दलीय गठबन्धनको चुनौती चिर्ने गरी एमालेले टिकट दिने तयारी गरेको हो।
हाल बागमती प्रदेशसभा सदस्य रहेका स्थापित २५ वर्षपछि फेरि काठमाडौं महानगरको बागडोर सम्हाल्ने बिन्दुमा पुगेका हुन्। स्थापितलाई काठमाडौं उठाउने औपचारिक निर्णय एमाले आगामी १० वैशाखमा बस्ने सचिवालय बैठकबाट गर्नेछ। काठमाडौंको प्रमुखका लागि एमाले नगर कमिटीले २ वैशाखमा ५ जनाको नाम सिफारिस गरिसकेको छ।
नगर कमिटीले वर्तमान प्रमुख विद्यासुन्दर शाक्य, संघीय सांसद रामवीर मानन्धर, प्रदेश सांसद केशव स्थापित, निर्मल देउला र नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद वसन्त मानन्धरकी पत्नी इन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको थियो।
यी ५ मध्येमा प्रमुखका लागि सबैभन्दा हेविवेट स्थापित नै हुन्। गठबन्धनको चुनौती चिर्न सक्ने सबैभन्दा बलिया मानिएका स्थापितलाई काठमाडौंको उम्मेदवार बनाउने सहमति भइसकेको एमाले उच्च स्रोतले बताएको छ।
०७४ को निर्वाचनबाट कांग्रेसका राजुराज जोशीलाई हराउँदै प्रमुख बनेका विद्यासुन्दरले पनि पार्टीले जिम्मेवारी दिएमा दोहोरिन तयार रहेको बताइसकेका छन्। तर, उनको कार्यकालप्रति एमाले अध्यक्ष ओली एकातिर सन्तुष्ट छैनन् भने अर्कातिर फेरि टिकट दिएमा हार्न सक्ने आँकलन छ।
एमाले प्रचार विभागका प्रमुख विष्णु रिजालले काठमाडौंसहित बाँकी महानगर र उपमहानगरका उम्मेदवारको टुंगो आगामी १० गतेको सचिवालय बैठकले गर्ने बताएका छन्।
‘आज देशभरका महानगर र उपमहानगरबाट आएका नामहरूबारे सचिवालयमा छलफल भएको छ’, प्रचार विभाग उपप्रमुखसमेत रहेका रिजालले भने, ‘बाँकी निर्णय पर्सीको बैठकले गर्छ।’

